Skip to content
मिति: १४ जेष्ठ २०८३, बिहीबार

एमाले छोडेर गएकाहरुलाई घर फर्कन अध्यक्ष ओलीको अपिल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा पार्टी छोडेर गएकाहरुलाई एमालेमा फर्किन आह्वान गर्नु भएको छ । एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणमा सरिक हुन आग्रह गर्दै एमालेमै फर्किन आहवन गर्नु भएको हो । 

अध्यक्ष ओलीले एमालेले निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा एमाले सधैं अग्रपंक्तीमा रहेको, स्वाधिनता जोगाउने बलियो कवच बनेको, देशभक्तीको भावना र विकास निर्माण गर्ने कामको नेतृत्व गरेको, सामाजिक सुरक्षा जस्ता लोकप्रिय कार्यक्रम मार्फत समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने काममा एमालेको महत्वपूर्ण योगदान रहेको स्मरण गराउनु भएको छ । 

अध्यक्ष ओलीले लेख्नु भएको छ ‘एमाले केवल एउटा संगठन होइन यो जनताको रगत,पसिना,आँसु र आशाबाट बनेको विशाल परिवार हो । यो पार्टीको जग बसाउन तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षणहरु समपर्ण गरेका छन् । कसैले जेल यातना भोगे । कतिले जीवन बलिदान गरे । कसैले युवा अवस्था आन्दोलनमा अर्पण गरे । धेरैले सानो सानो योगदान गरेर यो घर ठड्याए ।’

अध्यक्ष ओलीले देशमा महाविनाश निम्त्याएर सार्वभौम अस्तित्व माथी चुनौति खडा गर्दै लोकतान्त्रिक संविधान माथी आक्रमण भइरहेको उल्लेख गर्नुभएको छ । यस्तो बेला एकताबद्ध एमालेले मात्र देशको हित र सार्वभौमिकताको रक्षा गर्ने उहाँको भनाइ छ । 

अध्यक्ष ओलीले पार्टी छोडेर विगतमा विभिन्न ठाउँमा पुगेका नेता कार्यकर्ताहरुलाई  भावनात्मक रुपमा एकाकार हुन आह्वान गर्दै भन्नुभएको छ ‘जहाँ हुनुहुन्छ । फर्किनुहोस । आफ्नै घर फर्किनुहोस । यो घर तपाईंहरुको रगत र पसिनाले बनेको हो ।’

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्नु भएको पूर्ण पाठ यस्तो छ 

दिदीबहिनी तथा दाजुभाइहरु,

कमरेडहरु  

निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा नेकपा ९एमाले० ले सधैं अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्यो। अनेकौं प्रहार खेपेर राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी बन्यो। देशभक्तिको भावना जगाउने र विकासका संरचना निर्माण गर्ने कामको नेतृत्व यही पार्टीले ग¥यो । सामाजिक सुरक्षाका कार्यक्रम ल्याउने लोक कल्याणकारी राज्यको आरम्भ यही पार्टीले गरेको हो । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न हामीले गरेका यी कामका सयौं उदाहरण छन्। 

एमाले केवल एउटा राजनीतिक संगठन होइन — यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो। यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्। कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए ।

आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौं। राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।

त्यसैले, विगतमा नेकपा ९एमाले०को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु —

जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्।

यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो।

फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं — देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं।

हामी एउटै परिवार हौं —

हाम्रो लक्ष्य स्पष्ट छ —

समृद्ध नेपाल, सुखी नेपाली।

म सबैमा आह्वान गर्न चाहन्छु 

कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा —

हाम्रो साझा सपना साकार पार्न ।

निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं।


प्रतिक्रिया दिनुहोस्